काठमाडौं । राहदानीको औंठाछाप परिक्षणले लन्डनको नदीमा भेटिएको शव नेपाली विद्यार्थीको रहेको पुष्टि भएको छ। लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि भएको हो।
गत मंगलबार फेला पारेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशंकामा लन्डन प्रहरीले औँठा छाप परीक्षण गरिएको थियो। दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठा छाप परीक्षण गर्दा शवसँग मिलेको लन्डन प्रहरीले जनायो।
प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको र मृतकका परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको छ। हालसम्मको अनुसन्धान र घटनाक्रमबारे परिवारलाई खबर भइसकेको जानकारी दिँदै भनेका छन्, ‘प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले मृत्यु शंकास्पद नरहेको बताएको छ। बाँकी कुरा थप अनुसन्धानपछि बाहिर आउला।’
शव परीक्षण सकिएपछि शव नेपाल लाने वा बेलायतमै अन्तिम संस्कार गर्ने भन्ने विषयमा परिवारसँग समन्यव भइरहेको उनले जानकारी दिए। अप्रिल २१ देखि सम्पर्काविहीन भएपछि ओली अध्ययनरत क्याम्पसका विद्यार्थीले लन्डन प्रहरी र नेपाली दूतावासलाई जानकारी गराएका थिए।