काठमाडौँ । रोयल च्यालेन्जर्स बेंग्लुरूले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति भएको खेलमा बेंग्लुरूले चेन्नईमाथि ५० रनको जित निकालेको हो।बेंग्लुरूले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले ८ विकेट गुमाएर १४६ रनमात्रै बनाउन सक्यो।
त्यस क्रममा महेन्द्रसिंह धोनीले नट आउट ३० रन बनाए। उनले १६ बलमा ३ चौका र २ छक्का हाने।त्यसअघि ओपनर रचिन रविन्द्रले ३१ बलमा ५ चौका प्रहार गरी ४१ रन बनाएका थिए। त्यस्तै रविन्द्र जडेजाले २५, शिवम दुबेले १९ र रविचन्द्रन अश्विनले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ बेंग्लुरूका जोश हेजलउडले तीन, यश दयाल र लियाम लिभिङस्टोनले २र२ तथा भूवनेश्वर कुमारले एक विकेट लिए।पहिले ब्याटिङ गरेको बेंग्लुरूले ७ विकेट गुमाएर १९६ रन बनाएको थियो।बेंग्लुरूका लागि कप्तान रजत पाटीदारले अर्धशत हाने। उनले ३२ बलमा ४ चौका र तीन छक्का प्रहार गरी ५१ रन बनाए।
ओपनर फिल साल्टले ३२, विराट कोहलीले ३१, टिम डेविडले २२, देवदत पाडिकलले २७ रन जोडे।बलिङतर्फ चेन्नईका नूर अहमदले तीन, मथिशा पाथिरनाले २ तथा खलिल अहमद र रविचन्द्रन अश्विनले एकरएक विकेट लिए।बेंग्लुरूको यो लगातार दोस्रो जित हो। उसले पहिलो खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सलाई पराजित गरेको थियो।चेन्नइको यो पहिलो हार हो। यसअघि उसले मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो।