काठमाडौँ । कांग्रेसलाई राष्ट्रपतिमा सघाउने निर्णय भएसँगै प्रधानमन्त्रीको कार्यकाल पनि बाँडफाँट भएको छ ।
शुक्रबार आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति चुनावमा समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ भने नयाँ आठदलीय गठबन्धन बनेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सहयात्री परिवर्तन गर्दै कायम रहने भएको छ ।पहिलो तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने, त्यसपछि एक वर्ष माधवकुमार नेपाल र अन्तिम वर्ष कांग्रेसले प्रधानमन्त्री लिने सहमति भएको छ ।
प्रचण्ड १० पुसमा एमालेलगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला राष्ट्रपति एमालेलाई दिने सहमति भएको बताइएको थियो । तर, अहिले एमालेलाई एक्ल्याउँदै आठ दल एक ठाउँ उभिएका छन् । कांग्रेस उम्मेदवारले राष्ट्रपतिमा जित हात पार्ने निश्चित जस्तै छ ।
बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले भने प्रधानमन्त्रीको कार्यकालबारे प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालबीच छलफल भएर तय हुने बताए । उनले अहिले नै सहमति भएको भने बताएनन् । तर अब नयाँ सत्ता समीकरण बन्ने उनले बताए ।
यो पनि पढ्नुस् :-
कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति
जसपालाई उपराष्ट्रपति दिने सहमती
नयाँ राजनीतिक यात्रा सुरु भयो : प्रधानमन्त्री प्रचण्ड
देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न भयो : ज्ञवाली