काठमाडौँ । नेकपा एमालेले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने आठ दलको निर्णयले देशलाई अस्थिरतातिर लैजाने प्रतिक्रिया दिएको छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार साँझ बालुवाटारमा भएको आठ दलको निर्णयबाट देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न भएको टिप्पणी गरेका हुन्।
शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको सत्ता पक्ष र प्रतिपक्षी आठ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो।
बालुवाटारको निर्णयबारे संक्षिप्त प्रतिक्रिया दिँदै एमाले उपमहासचिव ज्ञवालीले भने, “देश अस्थिरतातिर लैजाने निर्णय हो। किन भने एउटा कोर्स मिलेर अगाडि बढिरहेका बेला दुई महिनामै एउटा कोर्स बनाउने एउटा कोर्स भत्काउने हिजोका प्रतिस्पर्धीलाई मित्र बनाउने हिजोका मित्रहरूलाई शत्रु बनाउने कुराले मुलुकलाई अस्थिरतातिर धकेल्ने काम गरेको छ।“
उनले यो निर्णय नेताहरूको बोलीमा विश्वास हुँदैन भन्ने स्थिति निर्माण गरेको बताए। उनले समग्र घटनाक्रममा देशभित्रका पात्र मात्रै नभई बाह्य शक्तिहरूको पनि चलखेल देखिएको उल्लेख गरे।
यो पनि पढ्नुस् :-
कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति
जसपालाई उपराष्ट्रपति दिने सहमती
नयाँ राजनीतिक यात्रा सुरु भयो : प्रधानमन्त्री प्रचण्ड