काठमाडौं। मानव बेचबिखन मुद्दामा मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।
जिल्ला अदालत काठमाडौंले सोमबार पाण्डेलाई ७ वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई दिने गरी सजाय सुनाएको छ।
यसअघि माघ १० गते काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन र यौन दुराचार अभियोगमा सौन्दर्य प्रतियोगिताका सञ्चालक मनोज पाण्डेलाई दोषी ठहर गर्दै बाल यौन दुराचारमा ६ महिना कैद र ५० हजार जरिवाना सुनाएको थियो।
उनलाई थप सजाय निर्धारण गर्न सोमबारको पेशी तोकिएको थियो। छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा दोषी ठहर भए पनि सजाय निर्धारण गर्न अर्को सुनुवाइ हुनेगर्छ।
उनीमाथि मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा एक युवतीमाथि बलात्कार गरेको आरोप लागेको थियो।
ती युवतीले गत जेठ पहिलो साता भिडियो सार्वजनिक गर्दै २०७१ सालमा भएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा एभरेष्ट होटलमा आफूमाथि पाण्डेले बलात्कार गरेको सार्वजनिक गरेकी थिइन्।
त्यसपछि उनी जेठ ७ गते पक्राउ परेका थिए।
सम्बन्धित समाचारः ब्युटी प्याजेन्ट ‘सक्सेस पार्टी’पछि बलात्कार भएको आरोप, पत्रकारदेखि पूर्व मिस नेपाल सुब्बा पनि मुछिइन्