काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन्।
रास्वपाका दुई मन्त्री र एक राज्यमन्त्रीले आजै प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा बुझाउने पार्टीको बैठकपछि सभापति रवि लामिछानेले जानकारी दिए।
उक्त पार्टीबाट हाल श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की थिइन्।
आज बसेको उक्त पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
सम्बन्धित समाचारः सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
अदालतको आदेशपछि पद गुमाएमा रास्वपका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री बन्ने चाहना राखेका थिए। तर, त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत भएनन्।
प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए, त्यो प्रस्ताव लामिछानेले स्वीकार गरेनन्।