काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौंको कलङ्कीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकाङ्क्षा आफूहरूले पुरा गर्ने बताए।
प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने उनले बताए। उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे। सत्ता गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको उनले बताए। उनले देशलाई प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एक ढिक्का भएको बताए।
काठमाडौं–८ मा आफूले सुरु गरेका कयौँ परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको उनले बताए। मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए।
सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनले बताए।