काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भन्ने सुरक्षागार्ड पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गरूड सेक्युरिटीजअन्तर्गत ठमेलस्थित छायाँ सेन्टरमा कार्यरत शेरजंग गुरुङ छन्।
मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका उनलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
मन्त्री श्रेष्ठ छायाँ सेन्टरमा बायोमेट्रिक्सका लागि त्यहाँ पुगेका थिए। तर मन्त्री श्रेष्ठलाई पनि सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए।
निजी सुरक्षा अधिकृत (पीएसओ)सहित गएका पर्यटनमन्त्री श्रेष्ठ त्यहाँबाट अगाडि जान खोज्दा गुरुङले रोकेका थिए। लगत्तै पीएसओले उनी मन्त्री भएको बताए।
गुरुङले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ विवाद भएको थियो।