काठमाडौँ । प्रेस सेन्टर नेपालले केन्द्रीय समितिमा ६१ सदस्यीय पदाधिकारी सर्वसम्मतिले चयन गरेको छ। सेन्टरको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले सर्वसम्मतिमा पदाधिकारी चयन गरेको छ।
मङ्सिर १९ गते चितवनमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’लाई सर्वसम्मतिमा चयन गरी पदाधिकारी बाँकी राखेको थियो।
सेन्टरको वरिष्ठ उपाध्यक्षमा कमल गिरी चयन भएका छन् । प्रदेशअनुसार १५ जना खुला उपाध्यक्ष चयन भएका छन् ।समावेशी उपाध्यक्ष गोरखापत्रका उपेश महर्जन र सुरेश यादवसहित चार जना चयन भएका हुन् । सेन्टरमा उपाध्यक्षको सङ्ख्या २० रहेको छ।
महासचिवमा सन्तोष पौडेल चयन भएका छन् भने छ जना खुला उपमहासचिव र चार जना समावेशी तर्फका उपमहासचिवसहित १० जना उपमहासचिवमा चयन भएका छन्। समावेशीतर्फबाट राजेश चाम्लिङ उपमहासचिव चयन भएका हुन् । १५ जना खुला सचिव चयन भएका छन् भने १२ जना समावेशीतर्फबाट सचिव भएका छन् ।
आदिवासी जनजाति, दलित, महिला, मधेसी समुदायबाट दुई–दुई जना सचिव रहने विधानमा व्यवस्था छ। अल्पसङ्ख्यक, अपाङ्गता, अति विकट कर्णाली र अति विकट सुदूरपश्चिमबाट एक–एक जना सचिव रहने व्यवस्था विधानमा छ। त्यस्तै कोषाध्यक्षमा डिल्ली महत र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् ।