काठमाडौँ । महानगरीय कुकुर व्यवस्थापन कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाभित्र १८ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
आयोजित पत्रकार सम्मेलनमा ‘काठमाडौँ महानगरपालिका’ र ‘द जाने गुडल इन्स्टिच्युट’को समन्वय र सहकार्यमा सन् २०१६ देखि अहिलेसम्म २२ हजार कुकुरलाई रेबिज खोप लगाइएको कार्यक्रमका संयोजक वसन्त गौतमले जानकारी दिए ।
जनावर, वातावरण संरक्षण तथा समाज कल्याणका क्षेत्रमा क्रियाशील उक्त इन्स्टिच्युटले रेबिजको आशङ्का भएका करिब ५०० कुकुरको परीक्षण गरेको जनाएको छ ।
महानगरपालिकाका प्रत्येक वडामा कुकुर व्यवस्थापनका लागि इन्स्टिच्युटले स्थानीय समुदायको सहभागितामा आधारित कार्य सञ्चालन गर्न ३२ वटै वडामा प्रत्येक वडाध्यक्षको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरी कार्य गर्दै आएको छ ।
मानव स्वास्थ्य, बालमनोविज्ञान तथा वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन जनचेतनामूलक कार्यसमेत सञ्चालन भएको जनाइएको छ ।