धनगढी । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणित नगरेर पुनर्विचारका लागि फिर्ता गर्नुपर्ने धारणा राखेका छन् ।
प्रेस चौतारीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले नागरिकता विधेयकमा गरिएको व्यवस्था देशको हितमा नभएकाले राष्ट्रपतिले यसलाई प्रमाणीकरण गर्न नहुने बताए ।
‘नागरिकता विधेयकलाई राष्ट्रपतिले फिर्ता गरिदिनु पर्छ । यो मेरो व्यक्तिगत विचार हो । यसबारे हाम्रो पार्टीमा छलफल भएको छैन ।’ उनले भने, ‘यद्यपि स्वीकृत गर्ने÷नगर्ने राष्ट्रपतिको विवेकको कुरा हो ।’
२०५७ सालमा पनि विवादित नागरिकता विधेयक तत्कालीन राजा र अदालतले रोकेको उनले स्मरण गरे ।विधेयकमा गरिएको नेपालीसँग विवाह गरेका विदेशी महिलालाई समय सीमा नराखेर नागरिकता दिने व्यवस्थाले देशलाई फिजिकरणको बाटोमा लैजाने उपाध्यक्ष ज्ञवालीले बताए ।
नागरिकता विधेयकको यो व्यवस्थाले सबैभन्दा बढी खतरा मधेसमा हुने ज्ञवालीले बताए । भारतीयसँग विवाह गर्ने चलन मधेसमा बढी रहेकाले भारतबाट विवाह गरेर आएकाहरुलाई तुरुन्तै नागरिकता दिँदा मधेसमा रहेका राष्ट्रवादी नेपाली नागरिक अल्पमतमा पर्ने उनले बताए ।