काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालको इन्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को आज उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी देशलाई ‘आइटी हव’ बनाउनुपर्नेमा जोड दिए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘सूचना प्रविधिको विकास र विस्तारमा वर्तमान सरकार सदैव क्रियाशील रहेको छ, पछिल्लो समयमा भइरहेको सूचना र प्रविधिको विकासलाई मुलुकको समग्र विकाससँग जोडेर लैजानुपर्ने आवश्यकता छ, मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी यो देशलाई आइटी हव बनाउनुपर्ने छ ।”
सरकारी, निजी, अन्य क्षेत्रको कार्यसञ्चालन र सेवा प्रवाहमा मात्रै नभई, आम जनताको दैनिक क्रियाकलापसमेतमा सूचना प्रविधि अनिवार्य आवश्यकताको रुपमा स्थापित भइसकेको उनको भनाइ छ ।