काठमाडौं। सत्ता गठबन्धन बैठकलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति दिएको छ।
बैठकमा प्रचण्डले आजदेखि गर्ने भारत भ्रमणको विषयमा जानकारी गराएका थिए। साथै, आजै ३ बजे हुने उपसभामुखको निर्वाचन, नागरिकता विधेयक, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको नाम एमालेको विभागमा रहेको लगायतका विषयमा पनि छलफल भएको छ।
उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बसेको हो। बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेर प्रतिनिभिसभामा पठाउने अनुमति दिनेछ।
साथै, मन्त्रिपरिषद् बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप तथा यसका पदाधिकारीहरुबारे निर्णय गर्ने बताइएको छ। दुवै आयोग र आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ।