काठमाडौं। नेपाल प्रहरीका लागि ८४ करोडका हतियार खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै प्रतिनिधिसभामा विरोध भएको छ।
पूर्व डिआईजीसमेत रहेको सांसद नवराज सिलवालले नेपाल प्रहरीका लागि ८४ करोडका हतियार खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै आजको प्रतिनिधिसभा बैठकमा विरोध जनाएका हुन्।
उनले कमिसन र पैसाको लोभमा हतियार खरिद गरेर मुलुकप्रति राष्ट्रघाट गर्न लागिएको आरोप लगाए। सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न लागिएको बताए।
सिलवालले प्रहरीलाई अहिले हतियार होइन ब्यारेक र प्रविधि चाहिएको भन्दै गठबन्धनलाई पैसा जम्मा गर्न र बिचौलियाको कमिसनका लागि डलर अभाव भएका बेला हतियारका नाममा भ्रष्टाचार गर्न लागिएको आरोप लगाए। उनले हतियार खरिदका लागि ३ सय प्रतिशतसम्म मूल्य बढाएर कमिसन खान खोजिएको दाबी गरे।
उनले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री निवासबाट भाग्नुपरेको अवस्था उल्लेख गर्दै भने, ‘हाम्रो शासकहरु पनि सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था नआओस्।’
अर्थतन्त्र तहसनहस भए शासनहरु विदेशमा भाग्ने र जनताले नरकमा बस्नुपर्ने अवस्था बन्ने उनले बताए।
हतियार किन्ने निर्णय फिर्ता हुनुपर्ने उनले माग गरे।