जनकपुधाम । मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
मधेश प्रदेशको प्रदेशसभा बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ छ ।
मधेश प्रदेशले प्रस्तुत गरेको कूल बजेटमा चालू खर्च ४६.४४ प्रतिशत र पुँजीगत खर्च ५३.२१ प्रतिशत छ । बजेटमा वित्तीय व्यवस्थापनबाट १६ करोड २४ लाख ५६ हजार २०० रुपैयाँ अर्थात ०.३५ प्रतिशत जुटाइने उल्लेख छ ।
मधेश प्रदेशले ल्याएको बजेटमा राजस्व परिचालनबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ, विभिन्न कोषमा रहेको रकम ३८ करोड, संघबाट पाउने राजस्व बाँडफाँटबापत पाउने ११ अर्ब ६१ करोड ५८ लाख रुपैयाँ संकलन हुने बजेट वक्तव्यमा उल्लेख छ ।
प्रदेशले संघबाट पाउने समानीकरण बापतको अनुदान रकम ७ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ, विशेष अनुदान ४९ करोड रुपैयाँ, समपूरक अनुदान ७८ करोड रुपैयाँ, सशर्त अनुदानको १० अर्ब ६ करोड ५१ लाख रुपैयाँ सहितको स्रोतलाई आगामी आवको बजेटमा समावेश गरेको छ ।
प्रदेशले जम्मा ४५ अर्ब ४ करोड रुपैयाँको स्रोत तय गरेर तयार पारेको बजेटमा १ अर्ब ८२ करोड रुपैयाँको घाटा बजेटलाई भने आन्तरिक ऋण परिचालन गरेर जम्मा पार्ने पनि बजेट वक्तव्यमा उल्लेख छ ।