पोखरा। गण्डकी प्रदेश सरकारले झण्डै ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
अनुमानित बजेटअनुसार आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ ।
यसैगरी बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ । कुल बजेटमध्ये ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ ।
प्रदेश सरकारले सवारी साधन करमार्फत आउने ७२ करोड रुपैयाँ स्थानीय तहमा पठाउने घोषणा गरेको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुशासन र कृषि उत्पादनलाई प्राथमिकता दिएको छ ।
कृषि उत्पादन अन्तर्गत मकैको बिउ उत्पादनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री बरालले बताए ।यसैगरी प्रदेशलाई स्याउमा आत्मनिर्भर गराउन १७ करोड विनियोजन गरिएको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने भएको छ । प्रदेशभित्र रहेका प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडीको बिमा गरिने कार्यक्रम आगामी आर्थिक बर्षको बजेटमा समाबेश छ ।
गण्डकी प्रदेशले कोरोनाको कारण अविभावक गुमाएका बालबालिकालाई १ करोड बजेट बिनियोजन गरेको छ ।