विराटनगर। प्रदेश १ सरकारले कुल ३९ अर्ब, ७३ करोड, ८३ लाखको बजेट ल्याएको छ । बुधवार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेस गरेका हुन् ।
प्रदेश १ सरकारले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकतामा राखेर बजेट पेस गरेको हो । बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको छ ।
आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बजेटमा उल्लेख गरे ।चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख विनियोजन भएको थियो ।