काठमाडौँ । बाबु आमाबाट स्वतन्त्रता चाहियो भन्दै प्रहरीमा निवेदन दिन पुगेका जी–बब र परिवारबीच प्रहरीको रोहबरमा तीन बुँदे सम्झौता भएको छ ।
एनटीएफको तर्फबाट जिल्ला प्रहरी परिसरमा उपस्थित रहेका सुरेन्द्र गुरुङ (हाकिम)ले परिवारबीच मोटामोटी तीन शर्तमा सहमति भएको जानकारी गराएका छन् ।
सुरेन्द्रका अनुसार छलफलमा जी–बबका बुबा आमा र कपनमा रहेको रिहाबका सञ्चालक टासी लामाले मुख्यतया जी–बबलाई एक महिना रिहाबमा राख्ने र त्यसपछि एनटीएफसँगको सम्झौताअनुसार काम गर्ने सहमति भएको बताएका छन् ।
एक महिनाको अवधिमा परिवारले जी–बबसँग भेट्न चाहेमा रिहाब सेन्टरले व्यवस्था मिलाउने पनि सहमति भएको गुरुङले बताए । दुवैबीच भएको तेस्रो सहमतिको बुँदामा भने एनटीएफले जी–बबलाई लिएर कुनै कार्यक्रम गर्दा परिवारलाई पनि जानकारी गराउनु पर्ने उल्लेख छ ।
यसअघि जी–बबले आमाबुबाविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएका थिए । आमाबुबाले पनि उनलाई बन्धक बनाइएको भन्दै उजुरी दिएका थिए ।