विराटनगर । विराटनगर-४ का विमानस्थल प्रभावित साढे तीन सय परिवार मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यलय अगाडी केहीबेर धर्ना दिएर सडक आन्दोलन गरेका छन् ।
उनीहरुले मुख्यमन्त्री राजेन्द्र राई र प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाललाई ज्ञापनपत्र बुझाउँदै एकसाता भित्रमा मुआब्जाको व्यवस्था वा घर जग्गा फुकुवा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विमानस्थलको स्तरोन्नती गर्ने भन्दै सरकारले आसपासका साढे तीनसय परिवारको १ सय २६ विघा जमिन र घर दुई वर्षदेखि रोक्का गरेर मुआब्जा दाबी गर्न बोलाएको थियो । तर सरकारले मुआब्जाका लागि दुईवर्ष सम्म बजेटको व्यवस्था नगरेपछि उनीहरु सडकमा उत्रिएका हुन् ।