प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिएका छन्।
बिमस्टेक को २५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै आज उनले यस क्षेत्रको आर्थिक साझेदारी प्रवद्र्धन गर्न एकता, ऐक्यबद्धता र सहकार्यको महत्वमा जोड दिएका हुन्। प्रधानमन्त्री देउवाले बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिँदै शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकाङ्क्षा पूरा गर्न सङ्गठनलाई सक्षम बनाउनुपर्ने उल्लेख गरे।
उनले बिमस्टेकले दक्षिण एसिया र दक्षिण पूर्व एसियाबीचको सदियौँ पुरानो सांस्कृतिक र सभ्यताको सम्बन्धलाई पुनर्जीवित गरेको र सदस्य राष्ट्रबीच अर्थपूर्ण सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण कदम चालेको बताएका छन्।
त्यस्तै, बडापत्रमा हस्ताक्षर, महत्वपूर्ण कानुनी औँजारको अवलम्बन, सहयोगका क्षेत्र र उपक्षेत्रहरूको पुनर्संरचनासहित पाँचौँ शिखर सम्मेलनले शान्ति, समृद्ध र दिगो बङ्गालको खाडी क्षेत्रका लागि सहकार्य र साझेदारीको स्पष्ट सन्देश दोहोर्याएको उनले उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले यी उपकरणहरूको समयबद्ध कार्यान्वयनले पक्कै पनि बिमस्टेक प्रक्रियालाई नयाँ गति दिने बताएका छन्।
त्यस्तै, छुट्टै सन्देशमा परराष्ट्रमन्त्री डा नारायण खड्काले बिमस्टेक प्रक्रियालाई पुनरुत्थान गर्न र यस वर्षलाई नयाँ सङ्कल्प, ठोस् कार्य र ठोस् नतिजासहितको महत्वपूर्ण वार्षिकोत्सव बनाउन राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको बताएका छन्।