एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीको नियुक्ति र शपथ तत्काललाई रोकिएको छ।
आइतबार एकीकृत समाजवादीले आफ्नो पार्टीका ४ मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो। नयाँ सिफारिस हुने मन्त्रीमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी थिए।
समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेमबहादुर आले, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो।
नयाँ मन्त्रीलाई सोमबार नियुक्त गरेर शपथ गराउने तयारी थियो। तर, नयाँ मन्त्रीको नियुक्ति र शपथ तत्काललाई रोकिएको छ।
सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमतिपछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति र शपथ प्रक्रिया रोकिएको हो।
बैठकमा बजेट अधिवेशन चलिरहेको भन्दै तत्काल मन्त्रीमण्डल हेरफेर गर्न देउवाले अरुचि देखाएको बताइएको छ।
त्यसपछि फिर्ता बोलाइएका मन्त्री बालुवाटारमा देउवालाई भेटर संसद्मा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने र ‘पाइपलाइन’मा भएका केही काम गरेर मात्रै फिर्ता हुने मनसाय व्यक्त गरेका थिए।