कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका तोय प्रसाद शर्मा र भुलिया कुमारी रानाले भारी मतान्तरले प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।
प्रतिस्पर्धीलाई भारी मतान्तरले हराउँदै प्रमुख र उपप्रमुख काँग्रेसले जितेको हो । नेपाली काँग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार तोया प्रसाद शर्माले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पदम बहादुर पुजारालाई ५,३३२ मतको फराकिलो मतान्तरले हराउँदै विजयी भएका छन् ।
तोया प्रसाद शर्माले १०,००६ मत प्राप्त गरेका छन् भने एमालेका पदम पुजाराले ४,६७४ मत ल्याएका थिए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवन राज थापाले ३,७३४ मत पाएका थिए ।उप प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार भुलिया कुमारी रानाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रबाट उम्मेदवार रहेका धोखे रानालाई पराजित गर्दै नेपाली काँग्रेसकी भुलिया कुमारी राना विजयी भएकी छिन ।
भुलियाले ७,३४५ मत प्राप्त गरिन भने धोखेले ५,४९२ मत मात्र प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुशीला खत्रीले ५,४०३ मत प्राप्त गरेकी छिन ।पुनर्वास नगरपालिकामा ३४,०३६ मतदाता रहेकोमा २३,६०५ मत खसेको थियो भने ६२२ मत बदर भएको हो ।
यस्तै भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।नगर प्रमुखमा पदम बोगटी र उपप्रमुखमा निलम जोशी निर्वाचित भएका छन् ।
निर्वाचित बोगटीले १५ हजार ८८२ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश पन्तले ८ हजार १४९ मत पाए भने राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १०५ मत पाएका छन् ।
उपप्रमुखमा निर्वाचित जोशीले १२ हजार २१६ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५९६ मत पाए भने एमालेकी भुवन कुँवरले ७ हजार ९९० मत पाएकी छन् ।