जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै क्षेत्रमा धक्का लागेको छ । यादवको क्षेत्र मात्रै होईन वडामै उनको पार्टी पराजित भएको छ ।उनले मतदान गरेको सप्तरीको राजविराज नगरपालिका वडा नम्बर २ मै जनमत पार्टीले वार्ड अध्यक्ष सहित प्यानल जितेको छ ।
उपेन्द्रको चुनावी क्षेत्र अन्तर्गत रहेको महदेवा गाउपालिकामा लोसपाले जित हात पारेको छ । महदेवामा जसपाका उम्मेद्वार तेस्रो स्थानमा पुगेका छन् । त्यस्तै उनको चुनावी क्षेत्रमा रहेको तिलाठी कोइलाड़ी गाउपालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने जसपाका उम्मेदवार यहाँ पनि तेस्रो भएका छन् ।
उपेन्द्रको संसदीय क्षेत्र रहेको छिन्नमस्ता गाउंपालिकामा पनि जसपालाई हराउँदै लोसपाले कब्जा जमाएको छ । उपेन्द्रको चुनावी क्षेत्रमा रहेको राजविराज नगरपालिकामा मात्रै जसपाका उम्मेदवार भीमराज यादवले जित्न सफल भएका छन् । त्यसबाहेक उनको क्षेत्रमा जसपा निकै कमजोर भएको छ ।
सत्ता गठबन्धनको प्रमुख घटक जसपाका अध्यक्ष र दुई नम्बर प्रदेशमा समेत सरकार चलाइरहेको पार्टीका प्रमुख यादवकै क्षेत्रमा जसपा कमजोर भएपछी त्यसले तरंग ल्याएको छ । यादवले यससंगै आउंदो प्रतिनिधिसभाको निर्वाचनमा अर्को सुरक्षित क्षेत्रको खोजीमा लागेको स्रोत बताउंछ । दोस्रो संविधानसभामा मोरंगबाट पराजित यादवले सुनसरीबाट जीत हात पारेका थिए ।
संविधान जारी भए पछि सुनसरीमा पनि स्थिति राम्रो नभएर उनले सप्तरी रोजेका थिए । सप्तरीमा उनले आफ्नो जीतका लागि तत्कालीन राजपासंग चुनावी तालमेल गरेका थिए । तर यसपालीको स्थानीय चुनावमा पार्टीको अवस्था हेर्दा उनले नयाँ संसदीय क्षेत्रको खोजीमा छन र पर्सको कुनै सुरक्षित निर्वाचन क्षेत्रबाट चुनाव लड्ने आकलन गरिएको छ ।