काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसका रूपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निवासमा आयोजित ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा ओलीले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसका रूपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका हुन्।
ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई ‘हिंसा दिवस’ भएकोले त्यसलाई सरकारले राष्ट्रिय रूपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताए।
उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गर्दै भने, ‘हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्यो?’
उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए। उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए।
उनले अगाडि भने, ‘नेपाल जस्तो शान्तिप्रिय भनिएको देशमा हिंसा भयो। हिंसाको श्रृंखला टुंगिएका थिए, तर अझै हिंसाको धङधङी रहेछ। हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनायो। हिंसा दिवसलाई क्यालेन्डरमै राख्ने काम भयो। त्यसले अझै हिंसालाई मलजल गर्ने काम भयो। अब हामीलाई कुनै किसिमको कलह चाहिएको छैन। हामी हाम्रो देशको समस्या समाधान गर्न सक्षम छौँ।’