काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
सोमबार अपरान्ह सिंहदरबारमा रहेको माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो।
भेटमा समसामयिक राजनीति, राष्ट्रपति चुनावलगायत विषयमा छलफल भएको छ।
प्रचण्डसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै सम्बन्ध थप सुधार गर्ने विषयमा छलफल भएको जानकारी दिए। नेपालले थपे, ‘हामीबीचको सम्बन्ध बलियो होस्, असमझदारी केही कुरामा नहोस्, लामो यात्रामा जाऔं भन्ने कुरामा छलफल भयो।’
राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्ने संकेत गरेका नेपालले सबै पक्षसँग कुराकानी गरेर मिलाउने काममा प्रमुख पहल प्रधानमन्त्रीले गर्नुपर्ने बताए।
माओवादी पदाधिकारी बैठकमा जानुअघि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरेका हुन्। माओवादी पदाधिकारी बैठकमा राष्ट्रपतिबारे छलफल हुने कार्यसूची रहेको छ।
आइतबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग पनि राष्ट्रपति निर्वाचनबारे छलफल गरेका थिए।
प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चुनावमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्।
फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ।