-
उज्यालोलाई 
चिठीजस्तै खाममा सिलबन्दी गरेर 
हरेक बिहान–हुलाकीझैँ 
उड्दै–उड्दै यी चराका बथानहरू 
कहाँ पुग्छन् ? 
 
र, घर फर्कँदा 
के बोकेर फर्कन्छन् 
चारो कि स्वतन्त्रता ? 
 
चराहरू झगडा गरेको देख्दिनँ 
 
किन बा, 
बन्दुकसँग डराउँछन् यी चराहरू ? 
 
किन बा, 
चराहरूलाई आतंक मन पर्दैन ? 
 
किन बा, 
मान्छेजस्ता छैनन् यी चराहरू ? 
 
आगो आफैं लाग्दैन 
– लगाइन्छ 
हो त्यत्तिबेला 
चराहरू रून्छन् कि रूदैनन् ? 
चराहरूको आँखामा आँसु हुन्छ कि हुँदैन ? 
 
प्रत्येक मान्छेको भागमा परेझैं 
चराहरूको भागमा 
छ कि छैन– 
घाम र पानी ? 
धर्ती र आकाश ? 
 
चराहरू कुन धर्म मान्छन् ? 
चराहरूको जात कुन हुन्छ ? 
चराहरूको रगतको रङ कस्तो हुन्छ ? 
 
किन बा, 
मान्छेजस्तै विभाजित छैनन् यी चराहरू ? 
 
मेरो देशमा 
अञ्चल र जिल्लाहरू भएझैं 
चराहरूको पनि 
अञ्चल र जिल्लाहरू होलान् ? 
 
साँच्चै बा, 
चराहरूको देश हुन्छ कि हुँदैन ?