काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा संस्थापन इतर समूहले आफूलाई नयाँ जोशका साथ अघि बढाउने संकेत दिएको छ।
शनिबार महाराजगञ्जस्थित चुनदेवी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक डा. शशांक कोइरालाले कांग्रेस पुरानो पार्टी भए पनि कमजोर वा ‘फाटेको’ नभएको दाबी गरे।
‘नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो,’ उनले भने, ‘पुरानो भन्दाखेरि फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोशका साथ हामी जाँदैछौं।’
कोइरालाले आसन्न महाधिवेशनलाई पार्टीका लागि महत्वपूर्ण परीक्षाका रूपमा समेत चित्रित गरे। उनका अनुसार महाधिवेशनले कांग्रेसलाई अघि बढ्न नयाँ ऊर्जा र शक्ति दिनेछ।
‘यो हाम्रो लागि परीक्षाको समय पनि हो। यो अधिवेशन अत्यन्त महत्वपूर्ण हो,’ उनले भने।
संस्थापन इतर समूह महाधिवेशनको तयारीलाई गम्भीरतापूर्वक अघि बढाइरहेको उल्लेख गर्दै कोइरालाले पार्टीभित्र सबै पक्षलाई एकै ठाउँमा लिएर अघि बढ्ने चाहना पनि व्यक्त गरे।
‘हामी के चाहन्छौं भने सबै साथै हिँडौं, सबै सँगै हिँडौं,’ उनले भने।
कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै विभिन्न समूहबीच शक्ति समीकरण र नेतृत्वको विषयमा समेत गतिविधि तीव्र भइरहेका बेला कोइरालाको ‘नयाँ जोश’को अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।