काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीअन्तर्गत संघीय र प्रदेश निर्वाचन क्षेत्रस्तरका अधिवेशनहरू अधिकांश जिल्लामा सञ्चालन भइरहेका छन्।
भारी वर्षाको सम्भावनाका कारण केही निर्वाचन क्षेत्रमा भने पूर्वनिर्धारित कार्यक्रम प्रभावित भएको छ। त्यस्ता क्षेत्रमा स्थानीय परिस्थितिअनुसार मिति हेरफेर गरी अधिवेशन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले मौसमको पूर्वानुमानलाई ध्यानमा राख्दै १३ असोजभित्र सम्बन्धित क्षेत्रको अवस्था हेरेर अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। त्यसपछि केही जिल्लाले आइतबार र सोमबारका लागि नयाँ निर्वाचन कार्यतालिका तय गरेका छन्।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएकाले अधिकांश क्षेत्रमा शनिबार नै अधिवेशन सम्पन्न हुने अपेक्षा गरिएको छ। बाँकी क्षेत्रका अधिवेशन पनि सोमबारसम्म सकिने उनको भनाइ छ।
उनका अनुसार हालसम्म क्षेत्रीय अधिवेशन सञ्चालनमा उल्लेख्य समस्या वा अवरोध देखिएको छैन।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनले सम्बन्धित क्षेत्रको कार्यसमिति चयन गर्नुका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत निर्वाचित गर्नेछ।
कांग्रेसले यसपटक जिल्ला र प्रदेश तहका छुट्टाछुट्टै अधिवेशन नगर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय महाधिवेशन भने १६ देखि १९ असोजसम्म गर्ने कार्यतालिका छ।