काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती करिब एक दशकपछि फिल्म 'आचार्य’ मार्फत पर्दामा फर्किएका छन्।
अभिनयसँगै कथा, निर्देशन र निर्माणमा समेत संलग्न उप्रेतीले विदेशी फिल्मलाई रोक्ने वा प्रतिबन्ध लगाउनेभन्दा नेपाली फिल्मको गुणस्तर बढाएर खुला बजारमै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘आचार्य’मा दर्शकले कथाभन्दा एक्सन र कलाकारको अभिनयलाई बढी रुचाएको उनको भनाइ छ। वर्षाका कारण फिल्मको प्रदर्शन प्रभावित हुने हो कि भन्ने चिन्ता भए पनि काठमाडौं बाहिरका दुई दर्जनभन्दा बढी हलमा राम्रो दर्शक देखिएको उनले बताए।
उप्रेतीका अनुसार ‘भैरव’पछि नयाँ फिल्म ल्याउन लामो समय लाग्नुको मुख्य कारण उपयुक्त वातावरण र टिम तयार नहुनु हो। यसबीच आफ्नो आध्यात्मिक अध्ययन र साधना पनि निरन्तर चलेको उनले बताए। तर फिल्मबाट भने आफू टाढा नरहेको र नयाँ कथा तथा अवधारणामाथि निरन्तर काम गरिरहेको उनको भनाइ छ। ‘आचार्य’लाई उनले धर्म, शास्त्र, विज्ञान र युद्धकलाको संयोजनका रूपमा व्याख्या गरेका छन्। फिल्ममा आफ्नो लक्ष्यप्रति दृढ र कर्तव्यनिष्ठ पात्रको कथा प्रस्तुत गरिएको उनको भनाइ छ। नेपालदेखि भारतसम्म पुग्ने एउटा जटिल उद्धार मिसनमार्फत पात्रले भोग्ने शारीरिक तथा भावनात्मक संघर्षलाई फिल्ममा देखाइएको उनले बताए।
नेपाली फिल्ममा सामाजिक तथा पारिवारिक कथाको प्रभाव बढिरहेका बेला आफूले एक्सन जनरा रोज्नुको कारणबारे उप्रेतीले विश्व बजारमा एक्सन फिल्मको प्रभाव र नेपाली दर्शकको आफूप्रतिको अपेक्षालाई प्रमुख कारणका रूपमा उल्लेख गरे। विदेशी फिल्मसँग प्रतिस्पर्धाका लागि ठूलो बजेट नै आवश्यक नहुने उनको तर्क छ। सीमित स्रोतसाधनका बाबजुद आधुनिक प्रविधि, ड्रोन, नयाँ ग्याजेट्स तथा उच्चस्तरीय ध्वनि प्रविधिको प्रयोग गरेर नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरको अनुभूति दिन सकिने उनले बताए। उप्रेतीले भने, “विदेशी फिल्मलाई रोक्ने वा प्रतिबन्ध लगाउनेभन्दा पनि खुला बजारमा उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने फिल्म बनाउनु हाम्रो दायित्व हो।”
‘आचार्य’मा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने अभिनेत्रीलाई कथाको मागअनुसार छनोट गरिएको उनले बताए। यसअघि सुनिल शेट्टी र सञ्जय दत्तजस्ता बलिउड कलाकारलाई फिल्ममा लिने चर्चा भए पनि समयतालिका र बजेट व्यवस्थापनका कारण योजना अघि बढ्न नसकेको उनको भनाइ छ। ५० वर्षको उमेरमा समेत जोखिमपूर्ण स्टन्ट आफैँ गर्दै आएका उप्रेतीले फिल्मलाई जीवन्त बनाउन जोखिम मोल्नुपर्ने आफ्नो मान्यता रहेको बताए। उनका अनुसार ‘आचार्य’ दर्शकका लागि एक्सन र मनोरञ्जनसँगै जीवनमा परिस्थितिअनुसार कहिले लचिलो र कहिले दृढ बन्नुपर्ने सन्देश दिने प्रयास हो।