अहिले नेपालमा 'निर्वाचन नहुने' आशङ्काहरू लगभग छैन। आगामी फागुन २१ गते नेपालमा निर्वाचन हुने कुरा निश्चितप्रायः छ। यस लेखको प्रारम्भमै म एउटा स्पष्ट स्वीकारोक्ति गर्न चाहन्छु: यो कुनै व्यक्तिको अन्ध-समर्थन होइन। यो त कठिन र संकटपूर्ण समयमा सुशीला कार्कीले प्रदर्शन गर्नुभएको 'स्मार्ट लिडरसिप’ प्रतिको एउटा ' सम्मान' हो।
र यो लेखको प्रेरणा अरुन्धती रोयको कृति ‘द गड अफ स्मल थिङ्स’ हो।‘द गड अफ स्मल थिङ्स’ पढ्दै जाँदा भेटिएको यो लाइन गज्जब लाग्यो, “कुराहरू एकै दिनमा बदलिन सक्छन्। केही दर्जन घण्टाले पूरै जीवनको परिणाम प्रभावित गर्न सक्छन्।” हामी अक्सर राजनीतिक भाष्यहरूको खोजीमा ती साना, तर अर्थपूर्ण पलहरूलाई बिर्सिन्छौँ।
इतिहासका 'म्याक्रो-न्यारेटिभ्स' हरू नै वास्तवमा ती अदृश्य ठानिएका घटनाहरूको जगमा उभिएका हुन्छन्। सन् १९९७ मा बुकर पुरस्कार जितेको यो किताब वास्तवमा त्यस्ता स साना घटनाहरूको एउटा ट्रिब्युट हो।
त्यो एउटै लाइनले नै मलाई यो लेख लेख्न बाध्य बनायो। त्यही वाक्यले सोच्न लगायो—ठूला राजनीतिक घटनाभन्दा पनि कहिलेकाहीँ साना, देख्न सामान्य लाग्ने कामहरू नै निर्णायक हुन्छन्।
सुशीला कार्की नेपाली राजनीतिक संकटको एउटा यस्तो 'ट्रबलशूटर' बन्दैछिन जसलाई बुझ्नका लागि नेपाली समाजको सामूहिक मनोविज्ञान, मिडियाले निर्माण गरेको शक्तिशाली न्यारेटिभ बुझ्न जरूरी छ।
नेपाली समाजमा प्रायः ‘केओस पोलिटिक्स’ हुन्छ। विदेशी हस्तक्षेपका भाष्य र 'कन्स्पिरेसी थेउरी' त यहाँका चिया पसलदेखि सत्ताका गल्लीसम्म बिक्री हुने सबैभन्दा सुलभ 'बौद्धिक उत्पादन' बनेका छन्। तर, योभन्दा डरलाग्दो पक्ष अर्को छ— नेपाली सामाजको मनोविज्ञानले राजनीतिक नेतृत्वलाई अझै पनि एउटा ‘डिभाइन गार्जियनसिप’ (दैवीय अभिभावकत्व) को रूपमा हेर्ने मोह त्यागिसकेको छैन। पुरुष-प्रधान मानसिकतामा त्यो ‘न्यार्सिसिस्टिक इन्ज्युरी’ अझै बाकी छ ।
यो धरातलबाट मूल्यांकन गर्दा, प्रधानमन्त्री बनेपछी सुशीला कार्कीले नेपालमा दुईवटा ‘स्टेरियोटाइप’ लाई भत्काइदिएकी छन्। पहिलो, उनले त्यो पितृसत्तात्मक र पुरातनवादी ‘सबमिसिभ’ सोचलाई ध्वस्त पारिन्, जसले महिला नेतृत्वलाई 'नरम, भावुक वा सजिलै दबाबमा आउन सक्ने' एउटा कमजोर पात्रको रूपमा मात्र कल्पना गर्थ्यो।
दोस्रो, उनले शक्ति अभ्यासको त्यो 'मस्कुलिन' भ्रमलाई पनि चिर्न सफल भइन्, जहाँ शक्तिमा टिक्नका लागि आक्रामक शैली नै अनिवार्य मानिन्थ्यो। उनले पुरुष-प्रधान सत्ताको त्यो
अहंकार लाई चुनौती दिइन।
सुशीला कार्कीको सन्दर्भमा मलाई व्यक्तिगत रूपमा सबैभन्दा प्रभावकारी लागेको पक्ष के हो भने प्रधानमन्त्री बनेपछि उनले आफ्नो ध्यान निर्वाचन प्रक्रियामा केन्द्रित गरिन्। उनले जनतालाई 'ममाथि भरोसा गर' भनिनन, बरु 'यो पद्धतिमाथि भरोसा गर' भन्ने वातावरण सिर्जना गरिन।यो नेपाली राजनीतिको इतिहासमा एउटा दुर्लभ 'एडमिनिस्ट्रेटिभ लिडरसिप' हो।
नेपाली राजनीतिका अनेकन् संशय र 'असम्भव' भनिएका लजिस्टिक चुनौतीहरूका बीच फागुन २१ को त्यो एकै चरणको निर्वाचन सम्पन्न गर्ने उनको संकल्प आफैँमा एउटा ऐतिहासिक 'ब्रेकथ्रु' बन्दैछ । यो बिचमा, उनले व्यक्तिगत रूपमा विभिन्न जिल्लाहरूमा पुगेर प्रत्यक्ष निरीक्षण गरिन। ताप्लेजुङमा पाथीभरामा पूजा गरेर चुनावी अभियान सुरु गरिन्।
सुशीला कार्कीले समाजमा व्याप्त अराजकता र विग्रहलाई शान्त पार्न कुनै अतिरिक्त 'मसल्स' (भौतिक बल वा सत्ताको डर) प्रदर्शन गर्ने बाटो रोजिनन्। बरु, विधिको शासन लाई नै आफ्नो हतियार बनाएर समाजमा व्याप्त अराजकतालाई 'सफ्ट पावर' मार्फत मत्थर पारिरहेकी छिन।
कार्कीको नेतृत्वको अर्को मास्टरस्ट्रोक भनेको राजनीतिक दलहरूसँगको सन्तुलित व्यवहार हो। उनले दलहरूलाई 'शत्रु' वा 'प्रतिस्पर्धी' का रूपमा होइन, बरु 'लोकतान्त्रिक प्रक्रियाका साझेदार' का रूपमा व्यवहार गरिन्।
संवैधानिक सीमाभित्र रहँदै उनले शान्ति स्थापना गरिन्। जेन-जीसँग १०-बुँदे सम्झौता गरेर युवा आकांक्षालाई सम्बोधन गर्ने प्रयास गरिन्। यो नयाँ पुस्तालाई राज्यको ' हिस्सेदार' बनाउने ऐतिहासिक 'सोशल कन्ट्रयाक्ट' थियो।आफ्ना मन्त्रीहरूले चुनाव लड्न राजीनामा दिए पनि उनले कुनै गुनासो गरिनन्।
सुशीला कार्कीको कार्यकारी उदय कुनै सामान्य राजनीतिक घटनाक्रम थिएन; यो त नेपाली राजनीतिका लागि एउटा ‘ब्ल्याक स्वान फेनोमेनन’थियो। यसलाई बुझ्न नसिम निकोलस तालेबको ‘ब्ल्याक स्वान’ सिद्धान्त आवश्यक छ।
नसिम निकोलस तालेबको प्रसिद्ध सिद्धान्त अनुसार, 'ब्ल्याक स्वान' एउटा यस्तो घटना हो जुन पूर्णतया अप्रत्याशित हुन्छ, जसको प्रभाव अत्यन्तै गहिरो र व्यापक हुन्छ, र जसलाई भइसकेपछि मात्र मानिसहरूले तार्किक व्याख्या गर्ने प्रयत्न गर्छन्। कार्कीको आगमन पनि त्यस्तै थियो- जसको कल्पना न त तत्कालीन सत्ताका खेलाडीहरूले गरेका थिए, न त परम्परागत राजनीतिक विश्लेषकहरूले नै।
‘ब्ल्याक स्वान’ घटनालाई प्रणालीले देख्दैन, विज्ञहरूले देख्दैनन्, र सामाजिक पूर्वानुमान पनि यसको लागि तयार हुँदैन। तर जब त्यो घटना घट्छ, त्यसले सिङ्गो व्यवस्था नै हल्लाइदिन्छ। घटना पछि मात्र धेरै मानिसहरू भन्छन्, “यो त हुनैपर्थ्यो,” तर वास्तविकता के हो भने, त्यो घटना आउँदासम्म कसैले गम्भीर रूपमा कल्पना गरेको हुँदैन।
भदौ २३ र २४ पछिको त्यो ४८ घण्टा सिंगो राष्ट्रका लागि ‘एंग्जाइटी’ को समय थियो। देशभरि अन्योल थियो। संसद् विघटन, सरकारको अस्थिरता, र सडकमा फैलिएको हिंसा तथा अफवाहले नागरिकलाई मानसिक रूपमा असुरक्षित बनाएको थियो। यो घटना नेपाली समाजका लागि एउटा ‘कलेक्टिभ ट्रमा’ थियो। समाजमा गृहयुद्ध वा अस्थिरताको डर थियो।
त्यही गहिरो ‘क्राइसिस मोमेन्ट’ मा शुसिला कार्की को उदय‘ब्ल्याक स्वान लिडरसिप’ थियो |
भदौ २७ मा असाधारण राजनीतिक परिस्थितिमा शुसिला कार्की प्रधानमन्त्री बनिन्। यो नियुक्ति ‘डक्ट्रिन अफ नेसेसिटी’ (आवश्यकताको सिद्धान्त) अन्तर्गत गरिएको थियो । जब राजनीतिले बाटो बिराउँछ, तब 'आवश्यकताको सिद्धान्त' ले एउटा सक्षम र विश्वासिलो नेतृत्वको खोजी गर्छ। उनी त्यही ऐतिहासिक आवश्यकताको विकल्प बनिन्। नेपालको ४२औँ र इतिहासकै पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनको प्रवेश जति ‘एक्सिडेन्टल’ थियो, त्यति नै अर्थपूर्ण र गहिरो पनि।
त्यो समयमा नेपाली समाजमा ‘एंग्जाइटी डिसअर्डर’ बढ्यो। एक अध्ययन अनुसार, युवाहरूमा ‘फियर अफ मिसिङ आउट’ (फोमो) र सामाजिक सञ्जाल प्रतिबन्धले मानसिक दबाब बढाएको थियो। के हुन्छ, कसरी टुंगिन्छ, कसले जिम्मा। कसैसँग उत्तर थिएन—न त संविधानसँग, न त सडकमा उत्रिएका जेन जीसँग। नेपाल एक किसिमको ‘एक्जिस्टेन्सियल भ्याकुम’ मा पुगेको थियो।
जेन जी आन्दोलनको त्यो हप्त्ता सामाजिक सञ्जालमा ‘साइकोलोजिकल वारफेयर’ चलिरहेको थियो। मूलधारका मिडिया र सामाजिक सञ्जालका ‘ओपिनियन प्रोडक्सन ल्याब’ हरूले यति तीव्र गतिमा भाष्यहरू निर्माण गरिरहेका थिए कि त्यहाँ तथ्य र तर्कको कुनै स्थान बाँकी थिएन। । कसैले तथ्यभन्दा बढी डर फैलाइरहेको थियो, कसैले शंका र षड्यन्त्रका कुरा गरिरहेको थियो।सूचनाको भीड थियो, तर स्पष्टता थिएन।
मानिसहरू एक प्रकारको 'इन्फर्मेसन ओभरलोड' ले सिर्जना गरेको मनोवैज्ञानिक दासत्वमा परिसकेका थिए।
एकातिर राजतन्त्रको ‘नोस्टाल्जिया’ मा पुरानो गौरव फर्काउने सपना बाँडिदै थियो भने अर्कोतिर सैनिक शासनलाई एक मात्र 'स्थिरताको सूत्र' का रूपमा 'नर्मलाइज' गरिँदै थियो।
तर, नेपाली राजनीतिक संस्कारमा रहेको त्यही ‘मस्कुलिन अर्डर’ को विरुद्धमा सुशीला कार्कीको नियुक्ति एउटा ऐतिहासिक ‘डिजिटल म्याग्नाकार्टा’सावित भयो।
सुशीला कार्कीको उदयसँगै नेपाली राजनीतिको स्थायी चरित्र बनिसकेको ‘पावर पोलिटिक्स’ अचानक जोखिममा पर्यो। जब राजनीतिको 'सेन्टर स्टेज' मा वर्षौँदेखि जरा गाडेर बसेका नियमहरूमा धक्का लाग्यो, तब उनीहरूभित्रको ‘सर्भाइभल इन्स्टिंक्ट’ जाग्नु स्वाभाविक थियो। कार्कीको आगमन कुनै एउटा दल वा नेताका लागि मात्र चुनौती थिएन; यो त त्यो पूरै 'विषाक्त इकोसिस्टम' का लागि एउटा 'थ्रेट' बन्यो।
त्यही अस्तित्व रक्षाको छटपटी र भयका कारण कार्की विरुद्ध चौतर्फी मोर्चाबन्दीहरू सुरु भए। भदौ २७ मा नेपालको प्रधानमन्त्रीका रूपमा शपथ लिँदै गर्दा, समाजको एउटा परम्परावादी तप्काले उनलाई सहजै आत्मसात् गर्न सकेन। त्यो समयमा केही दलहरू चुनावमा जान तयार थिएनन्।
यहाँ विश्लेषण गर्नुपर्ने सबैभन्दा गहिरो र तितो सत्य के हो भने—हाम्रो राजनीतिक र सामाजिक संरचनाको 'डीएनए' अझै पनि यति धेरै पितृसत्तात्मक छ कि, एउटी महिलालाई 'सक्षम, दृढ र निर्णायक शासक' को रूपमा स्वीकार गर्नु हाम्रो सामूहिक अहंकारका लागि एउटा ‘न्यार्सिसिस्टिक इन्ज्युरी’ बन्न पुग्यो।
यहीँ दक्षिण एसियाली समाजको ‘कोलोनियल र प्याट्रिआर्कल’ मानसिकता हो।
प्रधानमन्त्रीमा एउटा महिलालाई देख्दा, समाजको एउटा तप्काले अनेक ‘कन्स्पिरेसी थ्योरी’ का स्क्रिप्टहरू र अफवाह फैलाउन थाले। तर शुसिला कार्की यहाँ रोकिइनन । उनलाई आफ्नो एसओपी राम्ररी थाहाथियो र उनले त्यस अनुसार काम गरिन्। प्रधानमन्त्री बनेपछि के गर्नुपर्छ, प्राथमिकता के हो, कसरी काम अघि बढाउनुपर्छ- यी सबै कुरामा उनी अन्योलमा थिइनन्। उनले भावनामा बगेर वा दबाबमा परेर निर्णय गरिनन्। उनले प्रक्रिया समातिन्, कानुनी बाटो समातिन्, र त्यही अनुसार काम गरिन्।उनी राजनीतिक अस्थिरता र अनिश्चितताको बीचमा पनि निर्वाचन तयारीमा पूर्ण फोकस रहिन्।
उनी राजनीतिक दलहरूलाई मात्र होइन, नागरिकहरूलाई पनि विश्वास दिलाउन लागिन्। सुरक्षा बल, प्रहरी र अन्य सुरक्षा निकायको मनोबल बढाउन उनले सक्रिय कदम चालिन्। प्रहरी र सुरक्षाकर्मीहरूलाई स्पष्ट निर्देशन दिइन् कि निर्वाचन निष्पक्ष, स्वतन्त्र र सुरक्षित तरिकाले सम्पन्न होस्।
उनी स्थानीय तहमा नियमित निरीक्षणमा गइन्, निर्वाचन आयोगसँग लगातार बैठक गरिन्, र निर्वाचन प्रक्रियामा कुनै ढिलाइ वा अवरोध नहोस् भनेर अन्तर्राष्ट्रिय सहयोग पनि मागिन।उनको रणनीति स्पष्ट देखिन्छ—फागुन २१ को प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न गराउने।
उनलाई रोक्ने प्रयास, आरोप र चरित्र हत्याका योजना पुराना संरचनाहरूको डरको परिणाम थिए। तर उनले ती सबै चुनौती पार गरेर लोकतन्त्रलाई बचाइन्।
आजको निर्वाचन र लोकतन्त्रको जुन 'न्यु नर्मल' मा उभिएर हेर्दा, पुराना दलहरू अझै पनि आफ्नो अस्तित्व रक्षाका लागि पुरानै 'सर्भाइभल' रणनीतिमा अल्झिएका देखिन्छन् भने नयाँ शक्तिहरू विकल्पको नाराभित्र नयाँ आकांक्षा बुनिरहेका छन्। यसका हरेक डट्सहरू जोड्दै जाँदा हामी त्यही 'ब्ल्याक स्वान' क्षणमा पुग्छौँ, जसले नेपाललाई राजनीतिक 'कोलाप्स' बाट जोगाएको थियो।
यो साहसको जरा उनको विगतसगं गहिरो गरी गाडिएको छ। सन् १९७९ बाट कानुनी यात्रा सुरु गरेकी कार्कीले २०१० मा सर्वोच्च अदालतको न्यायाधीश बनिन। नेपाल प्रहरीको महानिरीक्षक जयबहादुर चन्दको नियुक्तिमा भएको राजनीतिक हस्तक्षेपलाई बदर गर्ने आँट होस् वा लोकमानसिंह कार्कीको नियुक्ति खारेज गर्ने ऐतिहासिक फैसला चर्चामा रहे।
शुसिला कार्कीको न्यायिक यात्रा अत्यन्तै सफल र प्रेरणादायी रह्यो। उनी सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुँदा सन २०१८ मा प्रकाशित उनको आत्मकथा ‘न्याय’ ले उनलाई एक ‘न्यायिक योद्धा’ र राष्ट्रिय स्तरको ‘नायक’को रूपमा प्रस्तुत गर्यो।
प्रधानमन्त्रीको रूपमा कार्कीको ' इनिङ' झनै निर्णायक देखिएको छ। उनको प्राथमिकता संविधान र लोकतन्त्रको रक्षा बनिरहेको छ। उनी राजनीतिक दलहरू, नागरिक र सरकारी निकायहरूबीच विश्वास कायम राख्न सधैँ अग्रसर देखिन्छिन।
आज नेपाल जुन निर्वाचनको महाअभियानमा छ, यसको श्रेय सुशीला कार्कीको 'लिडरसिप' लाई जान्छ। दलहरू बीचको अविश्वास, नागरिकको 'एंग्जाइटी' र कर्मचारीतन्त्रको अलमलका बीच उनको पुलको कामले देशलाई 'एक्जिस्टेन्सियल भ्याकुम' बाट लगभग सुरक्षित अवतरण गराइसकेको छ।
नेपालको राजनीतिक इतिहासमा धेरै प्रधानमन्त्रीहरू इतिहासका पानामा छन, तर प्राज्ञिक जगतमा सुशीला कार्कीको नेतृत्व 'फेमिनिस्ट लिडरसिप इन क्राइसिस' को एउटा विश्वस्तरीय मोडेलको रूपमा पढिनेछ। उनले देखाएको बाटोले नै आज फागुन २१ को निर्वाचन एउटा चुनावी प्रक्रिया मात्र नभई एउटा 'राष्ट्रिय गौरव' को विषय बनेको छ।
हामी पुनः अरुन्धती रोयले आफ्नो उपन्यास ‘द गड अफ स्मल थिङ्स’ मा लेखिएको एउटा गम्भीर अस्तित्ववादी सत्यमा फर्कौँ - “यद्यपि तपाईंलाई थाहा छ कि एक दिन तपाईंको मृत्यु हुनेछ, तर तपाईं यसरी बाँच्नुहुन्छ कि मानौँ तपाईं कहिल्यै मर्नुहुने छैन।” सुशीला कार्कीको राजनीतिक र न्यायिक अस्तित्व यही दर्शनको एउटा जीवन्त प्रतिरूप बन्दैछ।
रोयका पात्रहरूले साना कुराहरूमा आफ्नो संसार खोजे जस्तै, कार्कीले पनि राजनीतिको ठूलो कोलाहलबीच 'विधिको शासन' जस्तो एउटा 'सानो' तर आधारभूत सत्यलाई समातिन्। त्यही सानो सत्य नै अन्ततः लोकतन्त्रको सबैभन्दा ठूलो 'सेफगार्ड' बन्दैछ।
‘‘थ्याङ्क यू’ प्राइम मिनिस्टर सुशीला कार्की—नेपाली लोकतन्त्रको रक्षा गरिदिनुभएकोमा।