काभ्रे– प्रहरीको अनुसार फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको छ।
‘फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ’, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, ‘एक राउण्ड गोली फायरिङ भएको पाइएको छ, फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको छ।’
छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले बताएको छ। प्रहरी नायब उपरीक्षक गिरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताए।
रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा नेपालीको महान् चाड दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ।