काठमाडौं । नेपाली कांग्रेसले पार्टीका बाँकी जिल्ला तथा प्रदेश अधिवेशन मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने तयारी गरेको छ।
अधिवेशनको मिति भने नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले निर्धारण गर्ने भएको छ।नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाका अनुसार केन्द्रीय कार्यसमितिको शपथग्रहणपछि बस्ने बैठकले अधिवेशनको कार्यतालिका तय गर्नेछ। छठ पर्वलगत्तै अधिवेशन गर्ने वा मङ्सिरको अन्तिम सातातिर सञ्चालन गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनले बताएका छन्।कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। केन्द्रीय नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने क्रममा पार्टीका तल्ला तहका केही अधिवेशन सम्पन्न गरिए पनि जिल्ला र प्रदेश तहको निर्वाचन भने बाँकी राखिएको थियो।
महाधिवेशनअघि वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका अधिवेशन सञ्चालन गरिएको थियो। समय सीमित भएकाले बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन महाधिवेशनपछि सम्पन्न गर्ने योजना पार्टीले बनाएको थियो।उपलब्ध विवरणअनुसार एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। अन्य ४२ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको जनाइएको छ। महाधिवेशन प्रतिनिधि छनोटसँग सम्बन्धित प्रक्रियालाई प्राथमिकता दिँदै ती जिल्लामा अधिवेशनको काम अघि बढाइएको थियो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पनि बाँकी अधिवेशनको मिति नयाँ केन्द्रीय कार्यसमितिले तय गर्ने बताएका छन्। उनका अनुसार जिल्ला र प्रदेश अधिवेशन मङ्सिर महिनाभित्रै सम्पन्न गर्ने तयारी छ।अब केन्द्रीय कार्यसमितिको निर्णयसँगै बाँकी अधिवेशनको औपचारिक कार्यतालिका सार्वजनिक हुने अपेक्षा गरिएको छ। त्यसपछि पार्टीका जिल्ला तथा प्रदेश तहमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढ्नेछ।