काठमाडौं । सांसद आशिका तामाङले क्यामेरा जडित ‘स्मार्ट ग्लास’ प्रयोग गरेर खिचेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि व्यक्तिगत गोपनीयता र कानुनी मर्यादाको विषयमा बहस सुरु भएको छ।
विशेषगरी बालबालिकाको अनुहार र पहिचान खुल्ने गरी भिडियो सार्वजनिक गरिएको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको हो। आलोचना बढेपछि उनले एक बालिकाको भिडियो सम्पादन गरी अनुहार ब्लर गरेकी थिइन्। बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाको व्यक्तिगत सूचना, फोटो तथा भिडियोको गोपनीयता संरक्षण गर्ने व्यवस्था गरेको छ। कानुनविद् तथा बालअधिकारकर्मीहरूले बालबालिका वा उनीहरूका अभिभावकको सहमतिबिना पहिचान खुल्ने सामग्री सार्वजनिक गर्दा उनीहरूको गोपनीयतामा असर पर्न सक्ने बताएका छन्।
यता, सांसद तामाङले भने आफ्नो व्यक्तिगत स्वार्थका लागि नभई समाजमा जनचेतना फैलाउने उद्देश्यले भिडियो बनाएको बताएकी छन्। उनले बालिकाको अनुहार ब्लर नगर्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्तो त्रुटि नदोहोर्याउने प्रतिबद्धता पनि जनाएकी छन्। स्मार्ट ग्लासको प्रयोगलाई नै प्रतिबन्ध लगाउने स्पष्ट कानुनी व्यवस्था नभए पनि त्यसबाट अरूको जानकारी वा सहमतिबिना भिडियो खिच्ने र सार्वजनिक गर्ने कार्यमा विद्यमान गोपनीयतासम्बन्धी कानुन आकर्षित हुन सक्ने कानुनविद्हरूको भनाइ छ। जनचेतना फैलाउने उद्देश्य जायज भए पनि त्यसका नाममा अरूको गोपनीयता र अधिकारमा असर पर्न दिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न अहिले उठेको छ। कानुन बनाउने जिम्मेवारीमा रहेका जनप्रतिनिधिले नै कानुनको पालना र नागरिकको अधिकार संरक्षणमा कति संवेदनशीलता देखाउँछन् भन्ने बहससमेत यस घटनाले अघि सारेको छ।