काठमाडौं ।नेकपा एमाले ले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाएको छ।
भेलाको व्यवस्थापन तथा तयारीका विषयमा पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ।बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका साथै जनजीविकासँग जोडिएका विषयमा पार्टीका नेता तथा कार्यकर्ताबीच साझा बुझाइ निर्माण गर्नु भेलाको प्रमुख उद्देश्य रहेको बताए।केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निर्णय गरेको स्मरण गराउँदै पौडेलले राष्ट्रिय भेलाले नेता तथा कार्यकर्तामा नयाँ उत्साह सिर्जना गर्ने विश्वास व्यक्त गरे। भेलामार्फत पार्टी पङ्क्तिलाई आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित गरिने उनको भनाइ थियो।
स्थानीय निर्वाचनमा एमालेले आफ्नो राजनीतिक प्रभाव र सङ्गठनात्मक क्षमता देखाउनुपर्नेमा जोड दिँदै पौडेलले २०८२ सालको निर्वाचन परिणामलाई अस्थायी धक्काका रूपमा लिएको पार्टीको बुझाइ व्यवहारबाट पुष्टि गर्नुपर्ने बताए। आगामी चुनौतीको सामना गर्न पार्टीलाई सक्रिय बनाउने योजना भेलामार्फत अघि बढाइने उनले उल्लेख गरे।सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ, पौडेलले बैठकमा भने।
बैठकमा महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालित हुन आग्रह गरे। भेलाका उद्देश्य र सन्देश पार्टीको सङ्गठनदेखि जनस्तरसम्म पुर्याउन प्रचारप्रसारलाई व्यापक बनाउनुपर्नेमा उनले जोड दिए।बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीबारे जानकारी गराएका थिए। उनका अनुसार राष्ट्रिय भेलामा विभिन्न तहका पार्टी कमिटी, जनसङ्गठन तथा जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहनेछ।
एमालेले उपलब्ध गराएको विवरणअनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायका ८१ जना तथा प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्। जिल्ला तहबाट ४४० जना प्रतिनिधि सहभागी हुनेछन्।त्यस्तै, पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट १ हजार ५०६ जना, सङ्घीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना र प्रदेशसभा सदस्यबाट १५५ जनाको सहभागिता रहनेछ। स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन्। जनसङ्गठनबाट ९६ जनाको प्रतिनिधित्व रहने एमालेले जनाएको छ।
एमालेले राष्ट्रिय भेलालाई पार्टीभित्रको एकता मजबुत बनाउने, सङ्गठनलाई सक्रिय तुल्याउने र आगामी राजनीतिक गतिविधि तथा निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने अवसरका रूपमा लिएको छ।