काठमाडौं ।श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार वास्तविक उपलब्धि हासिल गर्नुभन्दा प्रचारबाजीमा बढी केन्द्रित भएको टिप्पणी गरेका छन्।
सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले कामको मूल्याङ्कन सामाजिक सञ्जालमा देखिने लोकप्रियताका आधारमा नभई त्यसबाट प्राप्त नतिजाका आधारमा हुनुपर्ने बताएका हुन्।मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राईले सरकारका कामको प्रभावकारिता मापन गर्न सामाजिक सञ्जालका प्रतिक्रिया र एल्गोरिदमलाई आधार बनाउन नहुने धारणा राखे। जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने उपलब्धि हासिल गर्न सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
राईले नेपालको परराष्ट्र सम्बन्ध र राष्ट्रिय स्वाधीनताका विषयमा पनि चिन्ता व्यक्त गरे। कुनै राजनीतिक दल स्थापित हुन छिमेकी राष्ट्रसामु झुक्नुपर्ने अवस्था आउनु उचित नभएको उल्लेख गर्दै उनले नेपालले पञ्चशीलको सिद्धान्त र बुद्धका विचारलाई आत्मसात् गरी सबै मुलुकसँग सन्तुलित तथा मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने बताए। उनका अनुसार मित्रराष्ट्रसँग राम्रो सम्बन्ध राख्नुको अर्थ राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गर्नु होइन।प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका विषयमा दिएको अभिव्यक्ति र अर्थमन्त्री डा . स्वर्णिम वाग्लेका भनाइप्रति असन्तुष्टि जनाउँदै राईले यस विषयलाई संसद्मा उठाउने बताएका छन्। राष्ट्रिय सीमासँग सम्बन्धित मुद्दामा सत्ता पक्ष र प्रतिपक्षबीच साझा धारणा बन्नुपर्नेमा जोड दिँदै उनले राष्ट्रियताको पक्षमा आवाज उठाउनु कुनै देशको विरोध गर्नु नभएको स्पष्ट पारे।
यसैगरी, सामाजिक सञ्जालमा एल्गोरिदम र साइबर समूहको प्रयोगमार्फत फरक विचार राख्ने व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि राईले चिन्ता व्यक्त गरे। उनले युवाहरूलाई कुनै पनि राजनीतिक दलको अन्धसमर्थक नबनी देशको सार्वभौमिकता, राष्ट्रिय हित र स्वाधीनताका विषयमा स्वतन्त्र तथा सचेत धारणा बनाउन आग्रह गरे।राईले दलगत आग्रहभन्दा माथि उठेर राष्ट्रिय हितका विषयमा नागरिकले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।