काठमाडौं ।अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अमेरिकी सङ्घीय निर्वाचन आयोग एफईसी को विद्युतीय फाइलिङ प्रणालीमा साइबर अवरोध उत्पन्न भएको छ।
रोयटर्सका अनुसार यसले राजनीतिक दल र समितिहरूलाई चुनावी खर्चसम्बन्धी अनिवार्य विवरण बुझाउन कठिनाइ भएको छ।आयोगले आफ्नो प्रणालीमा अनधिकृत पहुँचको प्रयास देखिएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ। प्राविधिक टोलीले सेवा पुनः सञ्चालन गर्न काम गरिरहेको छ। यस अवरोधले विशेषगरी २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने खर्च विवरण दर्ता गर्ने प्रक्रियामा असर पारेको छ। यद्यपि, यसअघि सार्वजनिक गरिएका विवरण वेबसाइटमा हेर्न सकिने जनाइएको छ।
एफईसीले उम्मेदवार तथा राजनीतिक समितिहरूको चुनावी खर्चको अभिलेख राख्ने जिम्मेवारी सम्हाल्छ। तर, निर्वाचन सञ्चालन गर्ने निकाय भने होइन। त्यसैले प्रणालीमा आएको समस्याले प्रत्यक्ष रूपमा मतदान प्रक्रियामा असर पार्ने अपेक्षा गरिएको छैन।राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले अमेरिकी कङ्ग्रेसमा आफ्नो बहुमत जोगाउन सक्ने वा नसक्ने निर्धारण गर्ने निर्वाचनअघि यो घटना सार्वजनिक भएको हो। ट्रम्पले निर्वाचन निष्पक्ष भए त्यसको नतिजा स्वीकार गर्ने बताएका छन्। उनले आवश्यक परे राष्ट्रपतीय निषेधाधिकार प्रयोग गर्न सक्ने अभिव्यक्ति पनि दिएका छन्।
यसअघि ट्रम्पले मतदाता ठगीसम्बन्धी सूचना दिएर दोषीलाई पक्राउ तथा सजाय दिलाउन सहयोग गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका थिए। आगामी निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ।सीबीएस न्युजको सर्वेक्षणले डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा २२९ सिट जित्न सक्ने अनुमान गरेको छ। अक्टोबर २१ देखि २३ सम्म दुई हजार ३५५ अमेरिकी वयस्कमा गरिएको सर्वेक्षणमा महँगी, बढ्दो मूल्य र आर्थिक समस्यालाई मतदाताले प्रमुख चासोका विषय मानेका छन्। सर्वेक्षणले डेमोक्रेटिक मतदातामा मतदानप्रतिको प्रतिबद्धता बढी देखिएको पनि जनाएको छ।