काठमाडौं ।मिठाईमा प्रयोग गरिने सामग्री, त्यसको मूल्य र उपभोग गर्न मिल्ने मिति स्पष्ट रूपमा उल्लेख गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई व्यवसायीलाई निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बुधबारदेखि लागू हुने गरी जारी गरेको सूचनामा मिठाई उत्पादनमा प्रयोग गरिने तेल वा घिउको प्रकारसहित आवश्यक विवरण ग्राहकले सहजै देख्ने स्थानमा राख्न भनिएको छ।प्रशासनका अनुसार मिठाई बनाउन प्रयोग भएका प्रमुख कच्चा पदार्थ, तेल तथा घिउको विवरण, मूल्यसूची र उपभोग्य मिति स्पष्ट हुनुपर्छ। यसबाट उपभोक्ताले आफूले खरिद गर्न लागेको खाद्यवस्तुबारे आवश्यक जानकारी पाउनुका साथै स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ। साथै, उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै खाद्य पदार्थको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गरिएको छ।तिहार तथा छठजस्ता पर्वमा मिठाईको माग बढ्ने भएकाले बिक्रीवितरण गर्दा सामग्रीको विवरण र मूल्य पारदर्शी बनाउन प्रशासनले जोड दिएको छ।