काठमाडौँ – पर्यटन वर्ष २०२० सफल पार्न हिमालयन बैंक अग्रसर भएको छ। नेपालको सम्पदालाई विश्वमा चिनाउन हिमालयन बैंकले नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसको सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल’ अभियान शुरू भएको छ।
अभियानको मुख्य उद्देश्य नेपाल भ्रमणमा आउने विदेशी अमेरिकन एक्स्प्रेस कार्ड प्रयोगकर्ता विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गर्न र नेपालकाे मौलिकता, विविधता र प्राकृतिक सौन्दर्यको अनुभूति गर्न अभिप्रेरित गर्ने रहेकाे छ।
यस अभियान अवधिमा नेपाल घुम्न आउने अमेरिकन एक्स्प्रेस कार्डधारी पर्यटकहरुले नेपालमा विभिन्न सुविधाका साथै हिमालयन बैंकको ८० भन्दा बढी मर्चेन्ट पार्टनरहरुबाट विशेष छुट पाउनेछन्। हिमालयन बैंकले यस अभियान अवधिभर आफ्नो वेवसाइट, सोसल मिडियाका माध्यमबाट प्रचारप्रसार गर्नेछ।
याे ‘एक्स्पेरियन्स नेपाल’ अभियान सन् २०२० जुन महिनासम्म चल्नेछ। पर्यटन बोर्ड र अमेरिकन एक्स्प्रेसद्वारा आ–आफ्नो तर्फबाट विभिन्न देशहरुमा यो अभियान बारे प्रचारप्रसार र प्रवर्द्धन गरिनेछ।
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले एक्स्पेरियन्स नेपाल २०१९ अभियानले नेपालको भ्रमण वर्ष २०२० अन्तर्गत नै पर्यटकहरुलाई जीवनको अविस्मरणीय अनुभूति गराउने उद्देश्य लिएको बताए।
यसैगरी, बिहीबार पत्रकार सम्मेलनमा अमेरिकन एक्स्प्रेसकी दिव्या जैनले अभियानले नेपालमा पर्यटन प्रवर्द्धनका साथै स्थानीय व्यवसायलाई प्रोत्साहन मिल्ने बताइन्। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले यो अभियान नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।