काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा समूहबाट केन्द्रीय सदस्य पदका लागि खगेन्द्र आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
आचार्यले युवा पुस्ताको सक्रिय र अर्थपूर्ण सहभागितालाई प्राथमिकतामा राख्दै उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी सिर्जनासँग जोडिएका राजनीतिक एजेन्डा अघि बढाउने बताएका छन्। कांग्रेसको संशोधित विधानअनुसार ३५ वर्षमुनिका युवामध्ये प्रदेश र खुला प्रतिस्पर्धाबाट कुल २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
काठमाडौं क्षेत्र नम्बर ३ बाट युवा खुलातर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित आचार्य उद्यमशीलता, स्टार्टअप, नवप्रवर्तन तथा रोजगारी सिर्जनाका क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनी कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजकसमेत हुन्। यसअघि उनले उद्यमशीलता तथा साना–मझौला उद्योग विभागमा सदस्य र सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए।
आचार्यले स्टार्टअप तथा साना–मझौला उद्योगको प्रवर्द्धनसँगै युवा र महिला उद्यमशीलता, स्थानीय उत्पादन तथा डिजिटल प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै आएका छन्। युवालाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा थप सहभागी गराउँदै कांग्रेसलाई प्रविधिमैत्री, अनुसन्धानमा आधारित र परिणाममुखी संगठनका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।