काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र भार्गव विकास बैंक मर्ज हुने भएका छन्। पूर्णिमा विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको शाइन रेसुङ्गा र भार्गवबीच संस्था प्राप्तिसम्बन्धी वैशाख ३१ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। उक्त सहमतिपत्रमा शाइन रेसुङ्गा बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र भार्गव बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेका हुन्।
पछिल्लो पटक शाइन रेसुङ्गा र भार्गव बैंकबीच प्राप्तिपछि राष्ट्रिय स्तरको विकास बैंक बन्ने हुँदा कारोबारको दायरा, बजार उपस्थिति, प्रतिस्पर्धात्मक क्षमताको वृद्धि र मुनाफामा सकारात्मक प्रभाव पर्ने बताइएकाे छ।
सहमतिअनुसार वित्तीय संस्थाको नाम शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र संस्थाको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका- ६ मा रहनेछ। यसैगरी, संस्थाको सञ्चालक समितिमा शाइन रेसुङ्गा बैंकका सञ्चालक समितिको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा शाइन रेसुङ्गाको कार्यकारी अधिकृत प्रकाश पौडेल र नायव कार्यकारी प्रमुखमा भार्गव बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी रहनेछन्।
शाइन रेसुङ्गा बैंकले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट बैशाख १६ गतेमात्रै सैद्धान्तिक सहमति प्राप्त गरेको हो।
शाइन रेसुङ्गा बैंकको रुपन्देही, अर्घाखाँची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ, प्यूठान, बाग्लुङ्ङ र चितवन गरी १० जिल्ला कार्यक्षेत्र भएको ‘ख’ वर्गको विकास बैंकको रूपमा विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ। त्यसैगरी, भार्गव विकास बैंकको ५ जिल्ला कार्यक्षेत्र भएकोमा हाल बाँके, बर्दिया र दाङ्ग जिल्लामा शाखा कार्यालयहरू रहेका छन्।