काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत तीनवटा लघुवित्त कम्पनीले एकआपसमा मर्जरमा जान सम्झौता गरेका छन्। एकआपसमा गाभिनका लागि मिर्मिरे लघुवित्त, नागबेली लघुवित्त र किसान माइक्रोफाइनान्सले सम्झौता गरेका हुन् ।
तीनवटै कम्पनीले मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। मर्जरपश्चात्र कम्पनीको पूँजी वृद्धि गरी सवल तथा उत्कृष्ट राष्ट्रियस्तरको लघुवित्त बन्ने मुख्य उद्देश्यका साथ मर्जरकाे बाटाे अपनाइएकाे कम्पनीले जनाएको छ।
हाल मिर्मिरेको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको छ। यसैगरी, नागबेलीको १६ करोड ७६ लाख ७९ हजार ५ सय रुपैयाँ र किसानको ८ करोड ९७ लाख ९७ हजार ७ सय ९० रुपैयाँ चुक्ता पूँजी रहेको छ। मर्जरपछि बन्ने एकीकृत संस्थाको चुक्ता पूँजी ३८ करोड ६२ लाख ६३ हजार ६ सय ९० रुपैयाँ हुनेछ।
यसैगरी, संस्थाको अध्यक्षमा टेक बहादुर बोहरा, प्रमुख कार्यकारी अधिकृतमा कुमार याक्सो र नायब प्रमुख कार्यकारी अधिकृतमा बिर्खबहादुर बोहरा रहने बताइएकाे छ।
यस्तै, मर्जरपछि बन्ने संस्थाको नाम ‘किसान लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने भएको छ। साथै, संस्थाको लोगो र कर्पाेरेट कलर भने मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम गरिनेछ। संस्थाको केन्द्रीय कार्यालय हाल मिर्मिरेको केन्द्रीय कार्यालय रहेको स्थान बनेपा–८, काभ्रेपलान्चोकमा रहनेछ।