काठमाडौँ – नेपाल राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन्। बैंकले मुद्रा व्यवस्थापन विभागमा कार्यरत कार्यकारी निर्देशक निरौलालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
यसअघि केन्द्रीय बैंकको प्रवक्ता नारायणप्रसाद पौडेल थिए। उनी ३० वर्षे सेवा अवधिका कारण बैंकबाट बाहिरिने मिति नजिकिएसँगै गत सातादेखि बिदामा बसेका छन्। पौडेल अवकाश अघि १ महिना बिदामा बसेपछि निरौलालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
२०४६ साल माघमा राष्ट्र बैंक प्रवेश गरेका निरौला विगत ५ वर्षदेखि राष्ट्र बैंककै सुपरिवेक्षण विभाग, बैंक नियमन विभाग, विकास बैंक सुपरीवेक्षण विभाग र मुद्रा विभागमा कार्यकारी निर्देशकको भूमिकामा काम गरेको अनुभव रहेको छ। निरौला हाल केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यकारी निर्देशक पदमा कार्यरत छन्।