काठमाडौँ – कुमारी बैंक लिमिटेडले सत्रौं र अठारौं वार्षिक साधारणसभाका लागि एकसाथ वैशाख १६ गते बिहीबार बोलाएको छ। बैंकले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारणसभा एकैपटक बोलाएको हो। उक्त सभा नेपाल प्रज्ञाप्रतिष्ठानको सभा हलमा उक्त दिन बिहान १०ः३० बजे बस्ने भएको छ।
सभामा आर्थिक वर्ष २०७३/७४ का लागि चुक्ता पूँजीको १२ दशमलव ७ सय ५५ र आर्थिक वर्ष २०७४/७५ मा चुक्ता पूँजीको ८ दशमलव ५ सय ५ का दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गर्दैछ। बैंकले दुई आर्थिक वर्ष गरेर कुल २१ दशमलव २ सय ५५ बोनस शेयर वितरण गर्नेछ। यी दुवै प्रस्ताव साधारण सभामा पेश हुनेछ।
बैंकले दुई आर्थिक वर्ष गरेर १ अर्ब ५२ करोड २१ लाख ७८ हजार १ सय ३९ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्नेछ। बैंककाे प्रस्तावित बोनसपछि चुक्ता पूँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार १ सय १९ रूपैयाँ पुग्नेछ।
बैंकले साधारणसभा प्रयोजनका लागि वैशाख ६ गते शुक्रबार देखि वैशाख २६ गतेसम्म शेयर धनीदर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेको छ। वैशाख ५ गतेसम्म कायम शेयरधनीले मात्र दुवै आर्थिक वर्षको बोनस शेयर पाउनेछन्।
बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ। साथै, बैंकले आफैं वा सहायक कम्पनीमार्फत ब्रोकरको कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ।
संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २/२ जना गरी कुल ४ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्ताव पनि सभामा पेश हुनेछ। वार्षिक प्रतिवेदन माथि छलफल गरिने प्रस्ताव पनि छ। उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि राखिएको छ।