काठमाडौँ – पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १ सय ३२ केभी प्रसारण लाइनकाे कार्य अन्तिम चरणमा पुगेको छ। ९० दशमलव २१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रसारण शुरू गरिएको छ।
मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो। ४२ दशमलव ८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज गरिने आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिएका छन्। इलामको गोदकदेखि फिदिमको थापाटारसम्मको यस खण्डमा १ सय २६ टावर रहेका छन्।
कोरिडोरको तेस्रो खण्ड फिदिम–अमरपुरमा भने टावर गाढ्ने काम पूरा हुन लागेको छ। एउटा टावर गाड्न बाँकी छ, आयोजना प्रमुख द्विवेदीले भने।
आर्थिक वर्ष २०६२/६३ बाट शुरू भएको आयोजनाको निर्माणकार्य भने २०६६ र ६७ मा शुरू भएको हाे। पाँचथरको फिदिम र इलामको सिद्धिथुम्का क्षेत्रमा मुआब्जा वितरणमा विवाद हुँदा वर्षौँसम्म आयोजनाको निर्माणकार्य अवरुद्ध भएको आयोजना प्रमुख द्विवेदीको भनाइ छ।
यस्तै, टावरका लागि आवश्यक पर्ने १ दशमलव ५३ हेक्टर वन क्षेत्रका रुख कटानीका गर्न समयमै माथिल्ला निकायबाट आदेश नआउँदा आयोजनाको निर्माणकार्य एक दशकसम्म पुगेको हो।
सो कोरिडोरअन्तर्गत चार सवस्टेशन निर्माण गरिएका छन्। झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिम र पाँचथरकै अमरपुरमा रू. २५ करोड लागतले दमक सवस्टेशन शुरूमै निर्माण सम्पन्न भएको थियो। बाँकी तीन सवस्टेशन निर्माणको लागत रू. ५५ करोड थियो। तीनवटा नै सवस्टेशन दुई वर्षअघि निर्माण सम्पन्न भइसकेका छन्। सबै सवस्टेशन चार्ज भई सञ्चालनका लागि तयार रहेको द्विवेदीले बताए। (रासस)