काठमाडौँ – चीन सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाले वैशाख २२ गतेदेखि परीक्षण उत्पादन गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको उक्त आयोजनाको कुल ६० मेगावाट क्षमतामध्ये पहिलो युनिटबाट ३० मेगावाट विद्युत उत्पादन गर्न लागिएको हो ।
रसुवा र नुवाकोटको सिमानामा निर्माण भएको उक्त आयोजना १० वर्षपछि सम्पन्न भएको हो। प्राधिकरणको रुग्णमध्येको एक आयोजना सम्पन्न भएपछि अन्य आयोजनालाई समेत अगाडि बढाउन सहज हुने विश्वास छ।
प्राधिकरणले शुक्रबार एक सूचनामार्फत सो दिन परीक्षणको रूपमा विद्युत प्रसारण हुने भएकाले टावरको वरपर नजान तथा कुनै पनि प्रकारको अवरोध नगर्न जानकारी गराएकाे छ। सोही दिनदेखि प्रसारण लाइनसमेत पूर्ण रूपमा सञ्चालनमा आउने भएकाले प्रसारण लाइनको वरपर नजान तथा कुनै प्रकारको अवरोध नगर्नसमेत आग्रह गरेका छन्।
प्राधिकरणले प्रसारण प्रणालीको १५–१५ मिटर दाँया बाँया नजान तथा प्रसारण लाइनको टावर तथा पोलमा छुने तथा चलाउने नगर्न समेत सबैलाई ध्यानकर्षण गराएकाे छ। सो आयोजनामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहेको छ।