काठमाडौँ - यती एयरलाइन्स हरित गृह ग्यास उत्सर्जनलाई घटाउन र अपसेट गर्न सफल नेपालको पहिलो कार्बन न्यूट्रल एयरलाइन्स भएको छ। जलवायु तटस्थताका लागि संयुक्त राष्ट्रसंघको ग्रिनिङ द ब्लू भन्ने अवधारणालाई आत्मसात् गर्दै सन् २०१८ मा हरित गृह ग्यास उत्सर्जनलाई घटाउन र सन्तुलन गर्न सफल हुने यती एयरलाइन्स नेपालको पहिलो र सम्भवतः दक्षिण एशियाकै पहिलो कार्बन न्युट्रल एयरलाइन्स भएको कम्पनीले जनाएको छ।
एयरलाइन्सले संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)द्वारा सञ्चालित स्वतन्त्र कार्बन अडिट प्रक्रियामा सहभागी भई एयरलाइन्सको कुल कार्बन उत्सर्जनको गणना गरी त्यसलाई घटाउन र सन्तुलन गर्न योजना बनाइएको कम्पनीले बताएकाे छ।
सन् २०१७ र २०१८ को बीचमा कम इन्धन खपत हुने विमानको प्रयोग गरी प्रति उडान किलोमिटर २० प्रतिशत घट्नुका साथै प्रतियात्री १२ प्रतिशतले कार्बन उत्सर्जन घटेको थियो।
स्वतन्त्र कार्बन अडिटका अनुसार यती एयरलाइन्सले सन् २०१८ मा आफ्नो सम्पूर्ण उडानहरू, वाहनहरू र अन्य साधनहरूसमेतबाट १९ हजार ६ सय ६५ टनबराबर कार्बनडाईअक्साइड उत्सर्जन गरेको थियो। यस उत्सर्जनबाट लगभग ३ लाख २५ हजार १ सय ६५ रुखहरूद्वारा १० वर्षभन्दा बढीसम्मको कार्बनको मात्रा बराबर अनुक्रमित गर्ने जनाइएको छ।
एयरलाइन्सले जेटस्ट्रीम–४१ जहाजको सञ्चालन क्रमवद्ध रूपमा काम गर्दै एटीआर ७२–५०० जस्ता कम इन्धन खपत हुने विमान सञ्चालन गरेर कम जीएचजी उत्सर्जन उत्पादन गर्न सफल भएको कम्पनीले जनाएको छ। यसैगरी, जेटस्ट्रीम–४१ जहाजलाई क्रमशः हटाउँदै लैजाने नीति लिएको कम्पनीले जनाइएको छ।
त्यस्तै, जीएचजी उत्सर्जनलाई कम गर्नका लागि कम्पनीले अपनाएका महत्वपूर्ण रणनीतिहरूमा दक्ष उडान सञ्चालन गर्ने, ग्राउण्ड प्रक्रियाहरू सुधार्नका लागि विमानस्थल संरचनाहरूको पूर्वधारहरूको सुधार गर्ने, सार्वजनिक जागरुकता सृजना गर्ने र कर्मचारी प्रशिक्षण दिनेजस्ता महत्वपूर्ण कुराहरू पर्ने दाबी गरेका छन्।
यती एयरलाइन्सले विगतका वर्षहरू विभिन्न पर्यावरणीय परियोजनाहरू पनि सञ्चालन गर्दै आइरहेको कम्पनीले जनाएको छ।