काठमाडौँ – बिहीबार नेपाल विद्युत् प्राधिकरणले सम्पूर्ण आय सङ्कलन काउन्टर बन्द हुने बताएको छ। प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सबै कर्मचारी व्यस्त हुने भएकाले सो दिन आय सङ्कलन काउण्टर बन्द हुने भएका हुन्।
प्राधिकरणले सो दिन अनलाइनबाट विद्युत् महसुल भुक्तानी गर्न सकिने बताएका छन्। प्राधिकरणले आज एक सूचनामार्फत सङ्कलन काउण्टर बन्द हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। प्राधिकरणमा यही वैशाख १९ गते हुन लागेको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी निकटको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घबीच प्रतिस्पर्धा हुनेछ।
युनियनका सहसंयोजक खगेन्द्र शाहीले देशभरको निर्वाचन प्रचारप्रसारको काम सकिएको र आफूहरुले यस पटक निर्वाचनमा जीत हासिल गर्ने बताएका छन्। उनले उज्यालो नेपाल अभियान र प्राधिकरणलाई व्यावसायिक र सवल संस्था बनाउने आफ्नो सङ्गठनको योजनालाई सबै कर्मचारीले साथ दिने बताए।
यस्तै सङ्घले पनि निर्वाचन अभियान सकारात्मक रुपमा सम्पन्न भएको जनाएको छ।