काठमाडौँ– निजीक्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा चौथो ‘एटीआर–७२–५००’ जहाज भित्र्याएको छ। नाइन् एन एएनसी जहाज थाइल्याण्डको राजधानी बैंककबाट उडेर गतशुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने लक्ष्यका साथ यतीले जहाज थपेको हो। सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न थपिएका जहाजले सहयोग पुग्ने एयरलाइन्सको विश्वास रहेको छ।
यती एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले कम्पनीको थप एटीआर ७२ जहाज आगमी मे महिनाभित्रै काठमाडौँ आइसक्ने जानकारी दिएका छन्। नयाँ एटीआर एक फ्रान्सेली इटालियन कन्सोर्टियमद्वारा निर्मित ट्विन इञ्जिन टर्बोप्रोप विमान हो।
सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम जहाज र भगिनी संस्था तारा एअरको दुईवटा डोर्निओर डीओ २२८ र चारवटा ट्विनअर्टर जहाज छन्। कम्पनीले विभिन्न आठ गन्तव्यमा उडान भर्दै आएको छ। क्षेत्रीय उडान खासगरी दुर्गम भेगमा तारा एयरले आफ्नो वर्चश्व कायम गरेको छ।