काठमाडौँ- अबदेखि वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबाेन) को पूर्वस्वीकृति लिनुपर्ने भएको छ। वस्तु विनिमयसम्बन्धी ऐन, २०७४ को व्यवस्थाबमोजिम उक्त बजारसम्बन्धी संगठित संस्था स्थापना गर्न बोर्डको पूर्वस्वीकृति लिनुपर्ने भएको हाे।
बोर्डका अनुसार हाललाई दुईवटा मात्र कमोडिटी बजार सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको छ। त्यसैअनुरुप इच्छुकले सूचना प्रकाशन भएको मितिले दुई महिनाभित्र अर्थात आगामी असार १२ गतेभित्र आवेदन दिन सक्ने बोर्डको भनाइ छ।
बोर्डले प्राप्त आवेदनमध्ये उत्कृष्ट दुईवटा आवेदकलाई योग्यताका आधारमा छनोट गर्नेछ। कमोडिटी बजार सञ्चालनका लागि पूर्वस्वीकृति प्रदान गर्दा प्रस्तावित कम्पनीको पूँजी र रणनीतिक साझेदार, व्यावसायिक योजना, प्रतावित प्रविधि, संस्थागत स्वामित्व संकलन र व्यवस्थापनको योग्यताका आधारमा छनोट गर्ने बोर्डले जनाएको छ।