काठमाडौँ - ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नाराका साथ २०६४ वैशाख ७ गतेदेखि २०औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक लिमिटेडले १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको थियो।
बैंकले आफ्नो वार्षिकोत्सव पारेर बैंकिङ्ग जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना गरेको थियो। बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक (नारायणहिटीपथ, हात्तिसार, कमलादी गणेश, तीनधारा, दरबरमार्ग, नारायणस्थान) हुँदै बैंकको प्राङ्गणमा आएर टुंगिएको थियो। उक्त प्रभातकारी कार्यक्रममा करिव ३ सय ५० सिटिजन्सकर्मीहरुको उपस्थिति रहेको थियो।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका छन्।
वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगतका कार्यक्रमहरुलाई निरन्तरता दिँदै बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत याक फाउन्डेसनलाई रु १ लाख, एड्स संक्रमित भएका बालबालिकालाई सेवा गरिरहेको संस्था बेबी होमलाई रु २ लाख र विभिन्न उमेर समूहका असमर्थ, असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका अशक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आईरहेको चितवन मानव सेवा आश्रमलाई ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको छ।
बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु १ अर्व ६ करोड खुद नाफा आर्जन गरेको छ। यस बैंकले गत चैत्र मसान्तसम्ममा रु ६८ अर्व ६८ करोड निक्षेप संकलन गरी रु ६३ अर्व ५९ करोड कर्जा प्रवाह गर्न सफल भएको छ।
बैंकले कारोबार संचालन गर्दै आएको १२औँ वर्षको समयावधिको देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैकिङ्ग एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।